२०७८ माघ ९ गते आइतवार

शंकर पोखरेलको सरकार संकटमा, अविश्वासको प्रस्तावविरुद्ध सर्वोच्चमा एमाले



२५ साउन, घोराही –
लुम्बिनीमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले प्रदेश प्रमुखद्वारा आह्वान गरिएको प्रदेशसभाको विशेष अधिवेशन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । विपक्षी गठबन्धनको मागअनुसार प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएपछि एमाले अदालत पुगेको हो ।

प्रदेश सरकार अल्पमतमा परेको समयमा एमालेले विशेष अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो । सोमबार प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर एमालेका प्रदेश सांसद लीला गिरीले रिट दिएका हुन् ।

सत्तापक्षका सांसदहरुको तर्फबाट उनले प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै रिट निवेदन दिएका हुन् । उक्त रिटको लागि भोलिलाई पेसी तोकिएको छ ।

यसअघि, आजै सर्वोच्च अदालतले जनता समाजवादी पार्टी तीन सांसदले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै पोखरेलको सरकार संकटमा परेको थियो । पार्टी कारबाहीको विरुद्धमा सांसदहरुले दिएको रिटमा अदालतले अन्तरिम आदेश नदिएको हो ।

जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएपछि सरकारमा सामेल भएका तीन जना सांसदहरु विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेयलाई पद नरहने गरी कारबाही गरेको थियो ।

पार्टीको कारबाहीको विरुद्धमा तीन सांसदहरु सर्वोच्च पुगेका थिए । तर, न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मुख्यमन्त्री पोखरेलको सत्ता संकटमा परेको हो । फरकधाबाट

प्रकाशित मिति : २०७८ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्