२०७८ भाद्र ३१ गते बिहिवार

कोरोना बढ्दै गएपछि परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव



१८ साउन, घोराही –
कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताउनुभयो ।

आज सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषयमा भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताउनुभयो । स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उहाँले बताउनुभयो ।

तर मन्त्रालयका एक अधिकारीले राष्ट्रिय परीक्षा बोर्डसँग हिजो बैठक बसेको र विद्यमान परिस्थितिमा सुरक्षित तवरले कसरी परीक्षा गराउने भन्नेबारे छलफल भएको बताउनुभएको थियो ।

राज्यमन्त्री श्रेष्ठको भनाइबारे बोर्डले पनि जानकारी नभएको बताएको छ । तर बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसबारेमा स्वास्थ्य मन्त्रालयले कुनै छलफल नगरेको र हालसम्म बोर्ड परीक्षा गराउने तयारीमै रहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्