१८ साउन,दाङ –
पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायातसहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बिरामी बढेका हुन् ।
बजारमा किनमेल गर्ने उपभोक्ता र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरू बताउँछन् । संक्रमित हुनेमा व्यावसायी, पेसाकर्मीलगायत कामकाजी उमेर समूहका रहेका छन् ।
एक सय जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताउनुभयो । रूपन्देहीभन्दा छिमेकी जिल्लाहरू अर्घाखाँची, गुल्मी, कपिलवस्तुलगायतका जिल्लाबाट आएकाहरूमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा। पाठकले बताउनुभयो ।
संक्रमित बिरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित बिरामी भर्ना भएका डा। पाठकले बताउनुभयो । सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिँदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा. पाठकको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा साउन १ गतेदेखि १७ गते दिउँसो ३ बजेसम्म एक सय ४४ जनाले ज्वरोका बिरामी आएका छन् । तीमध्ये एक सय १६ जनालाई कोरोना चेकजाँच गर्न सुझाव दिइएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताउनुभयो ।
कोरोना संक्रमणबाट जोगिन सबै नागरिकलाई सरकारले जतिसक्दो छिटो खोपको व्यवस्था गर्नुपर्छ । नागरिकले पनि भीडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ गर्न नहुने चिकित्सकहरूको सुझावलाई पालना गर्नुपर्दछ ।।