२०७८ भाद्र ३१ गते बिहिवार

एसएसबीले तुइन काटेको होइन, चिप्लेर युवक आफै खसेका हुन् : भारत



१७ साउन, दार्चुला । एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।

पिथौरागढका जिल्ला अधिकारीले लिखित जवाफ पठाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने, ‘भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै जवाफ पठाइएको छ । तुइन तरिसकेपछि युवक आफै चिप्लेर महाकालीमा खसेको दाबी गरिएको छ ।’

यसैगरी भारतीय पक्षले पठाएको जवाफमा घटनापछि युवकको खोजी गर्न नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली तयारी अवस्थामा राखेको समेत जवाफमा उल्लेख छ ।

शुक्रबार बिहान व्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी काटेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्