२०७८ असोज ८ गते शुक्रवार

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रको सम्पर्क बाहिर



१६ साउन, दाङ- लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ । पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताउनुभयो । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।

माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताउनुभयो ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा पर्नुभएको छ । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन । दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोज्नुभएको थियो ।

‘हामीले संसदीय दलको वैठकमा उपस्थित हुन सबै माननीय ज्यूलाई फोन गरेर सूचना दिने क्रममा विमलाजीसँग सम्पर्क हुन सकेको छैन,’ थारुले भने, ‘उहाँको घरमा जाँदा र निर्वाचन क्षेत्रभर खोज्दा पनि भेटिनुभएको छैन ।’

एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको भन्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने जिकीर गर्दै आएको छ । गत बैशाख १९ गते उहाँले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गर्नुभएको थियो। प्रदेश सभा बैठकमा पनि उहाँ माओवादी केन्द्रकै लहरमा बस्दै आउनुभएको थियो । नेकपा खारेजपछि प्रदेश सभा सचिवालयले आफ्ना सांसदहरुको नामावली माग गर्दा एमाले संसदीय दलले विमलाको नाम पठाएको थिएन ।।अनलाईनखबरबाट

 

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्