१० साउन,घोराही –
दाङमा चालु वर्षदेखि लागु हुनेगरी श्रमिकहरुको दैनिक ज्याला निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा सिकर्मी, डकर्मी, ज्यामी, ज्यामी नाइके, भरिया, स्प्रे म्यान, स्प्रे नाइके फोर म्यान, इलेक्ट्रिसियन, सामाजिक परिचालक, कृषि श्रमिक लगायतको दैनिक ज्याला निर्धारण गरेको हो ।
जिल्लामा चालुवर्षदेखि दक्ष सिकर्मी, डकर्मीको दैनिक ८५० निर्धारण गरिएको छ । त्यसैगरी अदक्ष सिकर्मी, डकर्मीको दैनिक ६२० निर्धारण गरिएको छ । त्यस्तै अदक्ष ज्यामी, भरिया र स्प्रे म्यानको दैनिक ज्याला ५३५ न्युनतम ज्याला निर्धारण गरिएको छ ।
त्यस्तै ज्यामी नाइकेको ५४०, स्प्रे नाइके फोर म्यान र सुपरभाइजरको ५६५, सिनियर सुपरभाइजरको ५९५ दैनिक ज्याला निर्धारण गरिएको छ । त्यसैगरी दक्ष पलम्बरको ५७५, अति जोखिमयुक्त काम गर्ने दक्ष श्रमिकलाई ९६५, अति जोखिममा काम गर्ने अदक्ष श्रमिकलाई ६८० निर्धारण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका रोजगार दाताले नयाँ लागु न्युनतम ज्याला लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।।