३ साउन,घोराही –
दाङमा आज (आइतबार) देखि वृद्ध,प्राध्यापक एवं शिक्षक कर्मचारी,चालक,सहचालक लगाएतलाई कोभिडविरुद्धको भेरोसिल खोप लगाइँदैछ । जिल्लाका घोराही र राप्ति बाहेक ८ वटा स्थानीय तहका खोप केन्द्रहरुबाट ५५ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय दाङलाई प्राप्त भएको १९ हजार भाइल भेरोसेल खोप ५५ वर्षमाथिका सबै नागरिक, प्राध्यापक एवं शिक्षक कर्मचारी, सार्वजनिक यातायातका सवारी चालक तथा सहचालक र विदेश जान लागेका नागरिकहरुलाई लगाइने भएको छ ।
त्यसबाहेक अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी फ्रन्टलाइनमा खटिनेहरुलाई पनि खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दका अनुसार उक्त खोप कानुन व्यवसायी, उद्योग वाणिज्य संघका फ्रन्टलाइनर पदाधिकारीहरुले पनि लगाउन पाउनेछन् । त्यसैगरी अघिल्लो पटक छुटेका पत्रकार, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलाई पनि खोप लगाइनेछ ।
जिल्लामा पर्याप्त खोप उपलब्ध नभएकाले तत्काल ५०–५४ वर्ष उमेर समूह र पूर्ण अपांगता भएका नागरिकहरुलाई खोप लगाउन नसकिने भएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपांगता भएका नागरिकहरुलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार सरकारले तोकेको लक्षित उमेर समूहलाई स्थानीयस्तरकै खोप केन्द्रबाट खोप लगाइनेछ । त्यस्तै घोराही उपमहानगरपालिका र राप्ति गाउँपालिकामा कोरोना भाईरस विरुद्धको भेरोसेल खोप भने भोलीदेखी लगाईने भएको छ ।।