२०७८ साउन १७ गते आइतवार

सर्वोच्चको फैसला विरुद्ध एमालेले भण्डाफोर अभियान संचालन गर्ने



१ असार,काठमाडौं – नेकपा (एमाले)को संसदीय दलको बैठकले सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ। बानेश्वर स्थिति संघीय संसद्को लोत्से हलमा बसेको बैठले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो।

एमालेका सांसद विशाल भट्टराईले जनस्तरमा अदालतको फैसलाबारे व्यापक छलफल गर्ने निर्णय भएको जानकारी दिए।

‘सम्मानित अदालतका तर्फबाट संविधानका धारा र उपधारको अपव्याख्या भएको छ। जनाधारको उपेक्षा गरेर फैसला गरियो। त्यसप्रति आपत्ति जनाएका छौं। पार्टीले भण्डाफोर गर्ने निष्कर्ष निकालेको छ। व्यापक रुपमा जनताका माझमा पुर्‍याउने छौ,’ उनले भने।

बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफू नेतृत्वको सरकारले गरेको कामबारे सांसदहरुलाई ब्रिफिङ गरेका थिए।

संसद सुरु हुनुपूर्व संसदीय दलको बैठक बस्ने प्रचलन अनुसार आज संसदीय दलको बैठक बसेको भट्टराईले बताए। आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम बारेमा पनि छलफल भएको थियो।

‘हाम्रो सरकारले गरेका कामबारे अध्यक्षले चर्चा मात्रै गर्नु भएन, अहिले उहाँले विस्तृतमा जानकारी दिनुभयो,’ उनले भने।

यस्तै, आजको संसदीय दलको बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई अर्को बैठकमा सहभागी गराउने बारेमा पनि छलफल भएको छ। आजको बैठक बहिष्कार गरेका नेताहरुलाई अर्को बैठकमा सहभागी गराउन वातावरण बनाउने पनि निर्णय गरिएको छ।

‘केही समयदेखि हाम्रो पार्टीका केही नेता/सांसदहरु असन्तुष्ट रुपमा अलगै गतिविधि गर्दै आउनुभएको छ। उहाँहरुसँग छलफल गरेर अर्को बैठकमा उपस्थित हुने वातावरण यो बिचमा बनाइने छ,’ भट्टराईले भने।

आजै बसेको एमालेको स्थायी कमिटीको बैठकले पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो। अनुमोदन पछि कार्यदलको औचित्य सकिएको भन्दै सो कार्यदल विघटन गर्ने पनि स्थायी कमिटीले निर्णय गरेको थियो। पहिलोपोष्टबाट

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्