२०७८ माघ ३ गते सोमवार

गैरकानुनी रूपमा अमेरिका पठाएको आरोपमा दाङका एक जना पक्राउ



३१ असार, दाङ – बिनाभिसा गैरकानुनी रूपमा अमेरिका जान खोज्ने सात नेपाली डुंगा दुर्घटनामा बेपत्ता भएपछि प्रहरीले उनीहरूलाई पठाउने एजेन्टको खोजी अभियान तीव्र पारिएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका १४ मिलन चोक बस्ने गोमा जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । जीसीको नाममा केन्द्रबाटै वारेन्ट जारी गरी जिल्लामा पठाइएको हुँदा उनलाई पक्राउ गरेर काठमाडौं पठाइएको सुचना अधिकारी रिजालले बताउनुुभयो ।

असार ७ गते बिहान नेपालका ८ जना र १० बंगलादेशी नागरिक सवार डुँगा कोलम्बियाको समुद्रमा दुर्घटनामा परेको थियो। त्यसमध्ये एक नेपाली र पाँच बंगाली नागरिक पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । पौडी खेलिरहेका उनीहरूको सशुकल उद्धार भएको थियो। डुंगा दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका१२ का २८ वर्षीय हेमराज अधिकारी, बबई गाउँपालिका–५ का २७ वर्षीय रेशम बैंगा मगर र घोराही उपमहानगरपालिका १२ का २१ वर्षीय एन्जल बुढा मगर बेपत्ता रहेको भनेर आफन्तले प्रहरीमा जाहेरी दिएको सुचना अधिकारी रिजालले जानकारी दिनुुभयो ।

जसमध्ये घोराहीका बुढाको परिवारले उनको मृत्यु कर्मसमेत गरिसकेको छ। आफन्त गुमाएका अन्य परिवार भने अन्यौलमा छन्। उनीहरूले अमेरिका पठाउने एजेन्टलाई हालसम्म २७ देखि ३५ लाखसम्म रकम बुझाएको बताएका छन्। दुर्घटनामा परी पर्वत कुश्माका दिनेश गौतम, पर्वतको ग्यादीका राजु गुरुङसहित सात नेपाली युवा अझै बेपत्ता छन्।
दाङ, पर्वत, म्याग्दी र स्याङ्जाका युवालाई संगठित मानव तस्करहरूले चोर बाटोमार्फत अमेरिका प्रवेश गराउन खोज्दा डुंगा दुर्घटनामा परेको थियो । मानव तस्करीको यो घटनामा गोमाको संलग्नता के थियो भन्ने प्रहरीले सार्वजनिक गरेको छैन । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले काठमाडौं ल्याएर उनीमाथि थप अनुसन्धान गरिने बताउनुुभयो ।।

 

प्रकाशित मिति : २०७८ असार ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्