२९ असार,दाङ –
दाङका तीन जना सादा पोशाकमा खटिने प्रहरीलाई निलम्बन गरिएको छ । सवारी साधन चोरी र लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना सादा पोशाकमा खटिने प्रहरीलाई निलम्बन गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ।
एक प्रहरी अधिकारीका अनुसार इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बन गरिएको हो। प्रहरी स्रोतका अनुसार केसी र विकलाई झन्डै दुई हप्तादेखि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर अनुसन्धान भइरहेको छ।
त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बन गरी थुनामा राखेर अनुसन्धान भइरहेको छ। संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागुऔषध कारोबारीसँग मिलेमतो भएको अनुसन्धानबाट खुल्न आएपछि तीन जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको ती प्रहरी अधिकारीले बताउनुभयो ।