२०७८ साउन १७ गते आइतवार

कोपा अमेरिका : सर्वाधिक गोलकर्ता मेसी, मार्टिनेज उत्कृष्ट गोलकिपर !



एजेन्सी – अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।
कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।

साथै अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।।

आज बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे । उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए ।

चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्