२६ असार,काठमाण्डाै – नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमाले प्रवेश गर्नुभएका नेता रायमाझीले दाहालकै कार्याशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताउनुभएको हो ।
काठमाण्डौमा शनिवार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गर्नुभयो । उहाँले विगत ३३ वर्षदेखि विना विचार तथा विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रूपमा नेतृत्वमा बसिरहेको आरोप लगाउनुभयो । उहाँले दाहालको कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको बताउनुभयो ।
नेता रायमाझीले भन्नुभयो, ‘गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कतिऔँ पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधिविना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्राे छ । अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरङ्कुश तरिकाले सञ्चालन गरियो त्यसकारणले पार्टी कमजोर हुँदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यस कारणले पार्टी तुइँदै तुइँदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?’
माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्शन गर्नुपर्छ भनेर आफूहरू सङ्घर्ष गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकूल भएको दाबी उहाँले गर्नुभयो ।