२०८० असोज १७ गते बुधवार

घोराहीका तीन माविमा अझै पनि शून्य दरबन्दी



१९ असार, घोराही –
दाङको घोराही उपमहानगरपालिकाभित्र रहेका माध्यमिक तहसम्म सञ्चालन भएका तीन विद्यालयमा शून्य दरबन्दी रहेको छ । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई भए पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन ।

जनप्रतिनिधिहरू निर्वाचित भएर आए पनि उनीहरूको समय सकिन लाग्दासम्म पनि उपमहानगरपालिका क्षेत्रभित्र रहेका माध्यमिक विद्यालयमा शून्य दरबन्दी रहेका छन् । जसले गर्दा जनप्रतिनिधिले प्रभावकारी भूमिका खेल्न नसकेको अभिभावकको गुनासो छ । माध्यमिक तहसम्म कक्षा सञ्चालन भए पनि मावि तहको एउटा पनि दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा समेत समस्या हुँदै आएको छ ।

शून्य दरबन्दी रहेका उपमहानगरपालिकाभित्रका १० विद्यालयमा दरबन्दीका शिक्षकलाई काजमा पठाउने पठाउने भनेर गएको माघ २० गते सार्वजनिक सूचनासमेत प्रकाशन गरेर निवेदन माग गरिएको थियो । अहिलेसम्म सातवटा विद्यालयमा शिक्षक गइसकेका छन् । भने तीनवटामा अझै पनि जान सकेका छैनन् ।

मावि सञ्चालन भएका तर एउटा पनि दरबन्दी नभएका १० वटा माध्यमिक विद्यालयमा शिक्षक पठाउने घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले २०७७ माघको २० गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । परेका निवेदनबाट शिक्षकलाई शून्य दरबन्दी रहेका विद्यालयमा पठाइएको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जानकारी दिए । “अहिलेसम्म सातवटा विद्यालयमा शिक्षकहरू जानु भएको छ भने तीनवटा विद्यालयमा अझै पनि शून्य दरबन्दी रहेको छ,” उनले भने । माध्यमिक तह सञ्चालन भएका तर अहिले शून्य दरबन्दी रहेका विद्यालयहरू जयशेर मावि रावतगाउँ, बालकल्याण मावि खैरा र अन्तर्राष्ट्रिय युवा वर्ष मावि तोष छन् ।

एउटा पनि दरबन्दी नभएका विद्यालयमा शिक्षक पठाउनका लागि प्रयास भएको शाखा अधिकृत पौडेल बताउँछन् । एकजना शिक्षक गए पनि केही मात्रामा भए पनि विद्यालयलाई सहयोग पुग्ने उनको भनाइ छ । दरबन्दी मिलान गर्ने भनेर पटक पटक प्रयास थालिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । यसले गर्दा सहरी क्षेत्रमा विद्यार्थी अनुपातमा शिक्षक धेरै छन् भने ग्रामीणस्तरका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक संख्या अपुग छ । शिक्षकहरू ग्रामीण क्षेत्रमा जान नमान्ने गरेको बताइएको छ ।।

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्