१९ असार, दाङ – दाङको नारायणपुर क्षेत्रबाट तथा घोराही बजार क्षेत्रबाट बस भरी यात्रु लिएर शुक्रबार दिउँसो करीव ३ बजे यात्रुवाहक बस काठमाडौँ जाँदै थियो । घोराहीको ट्राफिक चोकमा पुगेर बस पार्किङ गरी यात्रु कुरिरहेको बेला एक जना ट्राफिक प्रहरी आएर बसका चालकसँग सोध्नुभयो, बस कहाँ जाँदैछ ? बस चालकले भन्नुभयो, सर हामी काठमाडौका लागि हिँडेको ।
फेरी ट्राफिक प्रहरीले सोध्नुभयो, सवारी पास त होला नी ? बस चालकले छ भन्नुभयो । उसो भए हेरौँ न भने पछि चालकले बसको सहयोगीलाई बोलाउँदै कागज पत्र देखाउन आग्रह गर्नुभयो ।
कागज पत्र हेर्दा घोराही उपमहानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले जिल्ला प्रशासनलाई दाङबाट काठमाडौँसम्म कामका लागि जाने १४ जना चढ्ने यात्रुको नामसहित उक्त बसको नम्बरमा सवारी पास दिलाउन गरेको सिफारिस मात्रै थियो ।
अनि जिल्ला प्रशासनले दिएको पास खोई भनी सोध्दा बसका सहयोगीले घोराही उपमहानगरपालिका वडा नम्बर १८ ले सवारी पास दिलाई दिन भनी लेखेको अर्को सिफारिस देखाउनुभयो । यो त वडाको सिफारिसको यसले हुदैन, सवारी पास बिना त कसरी छाड्ने ? भनी जवाफ प्रहरीले फर्काउनुभयो ।
सरकारले नै एक जिल्लाबाट अर्को जिल्ला जान परे सवारी पास अनिवार्य गरेको छ । जिल्लाबाट बाहिरिने बसलाई पास बिना यसरी छाड्न मिल्दैन उहाँको भनाई थियो । सो बसमा ३७ सिट भएपनि ४५ जना भन्दा बढी यात्रु बसेका थिए । ना ६ ख २४८२ नम्बरको उक्त यात्रुवाहक बसले सवारी पास बिना दाङबाट काठमाडौँसम्म यात्रु लैजान थालेको भन्दै ट्राफिक प्रहरी कार्यालयमा आएर कुरा गर्न बसका कर्मचारीलाई आग्रह गरियो ।
केही बेरको कुराकानीपछि उक्त बस गन्तव्यतिर लाग्यो । तर, उक्त बस पास बिना कसरी गयो थाहा भएन । किनकी, सो बसका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पासको अनुमति नै दिइएको थिएन । यस्ता उदाहरण दैनिक जसो हुने गरेको छ ।
काठमाडौँबाट दाङ आउने र दाङबाट जिल्ला बाहिर जाने बसले पनि बाटोमा ट्राफिकलाई यसैगरी आँखा छलेर यात्रु ओसार्ने गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीलाई पास बिनाको बस यात्रु लिएर काठमाडौँ जाने गरेको बारे जानकारी लिँदा पास बिनाका बस जिल्ला बाहिर नगएको बताउनुभयो ।
जबकी उक्त बस उहाँको कार्यालय अगाडी करीव आधा घण्टा भन्दा धेरै समय उभिएको थियो । र, बसका कर्मचारी कागज पत्रको सेटिङ मिलाउन ट्राफिक कार्यालयमा पुगेका थिए ।
घोराही १० को वडा कार्यालयले १४ जनाको पास बनाई दिन सिफारिस गरेको वडा अध्यक्ष चित्रबहादुर डाँगीले बताउनुभयो ।
यता, घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले पनि शुक्रबार दाङबाट काठमाडौंका लागि दुई वटा बसका लागि सवारी पासको लागि जिल्ला प्रशासनमा सिफारिस गरिएको बताउनुुभयो । एउटा बसमा २५ जनाभन्दा बढी यात्रु राख्न नमिल्ने भएकाले सोही आधारमा सिफारिस गरिएको उहाँको भनाई छ ।
प्राय सबै जिल्लामा लकडाउन खुकुलो भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय खुलेका छन् । काम गर्नेहरु गन्तब्यमा पुग्नु पर्ने पनि भएको छ । तर, बस व्यवसायीहरुले सेटिङका आधारमा सरकारले जारी गरेको मापदण्ड उल्लंघन गर्दै बसभरी यात्रु राखेर निर्वाध बस देशैभर गुडाईरहेका छन् । पूर्वपश्चिम राजमार्गमा अहिले प्रसस्तै यात्रुवाह बसहरु निर्वाध रुपमा गुडेको देखिन्छ ।
यसतर्फ यातायात व्यवसायीहरुको अभिभावक संस्था पनि मौन देखिन्छ । दाङबाट नेपालगंज जाने यात्रुवाहक सवारी त झन सामान्य अवस्थामा जस्तै दैनिक बिहानदेखि साँझसम्म गुडिरहेका छन् । तर, ट्राफिक प्रहरीले जिल्ला बाहिर पास बिना त्यसरी सवारी नजाने गरेको दावी गर्दैआएको छ । जवकी ती सबै सवारी पास बिना दाङबाट नेपालगंज पुग्ने गरेका छन् ।
जिल्लाभित्र संचालनमा रहेका यात्रुवाहक बसले साविककै भाडादरमा यात्रु बोक्ने गरेपनि अहिले दाङबाट काठमाडौंको यात्रु भाडा दोब्बर बढी लिने गरेका छन् । डिलक्स बसमा साविकको भाडा दर १ हजार भएपनि अहिले बस भरी यात्रु पनि राख्ने तर भाडा भने एक जनाबाट २ हजार रुपैयाँदेखि पच्चीस सयसम्म लिने गरेका छन् ।
एक यात्रुले भन्नुभयो, ‘ आफुलाई जानै पर्ने अवस्था हुन्छ, बसले जति भने पनि तिर्नै पर्यौ के गर्नु, बस भरी यात्रु हालेका हुन्छन् कोरोनाको जोखिम छ तर बसमा स्वास्थ्य सुरक्षाका केही साधन पनि छैन ।’
उता, वडा प्रहरी कार्यालय लमहीले पूर्वपश्चिम राजमार्ग भएर जिल्ला बाहिरबाट आएका सार्वजनिक सवारीको सवारी पास नियमित जाँच हुने गरेको बताउनुभयो । कतिपय सार्वजनिक बसले बिना पास पनि चलाएको भेटिएको उहाँको भनाई छ ।
सम्बन्धित स्थानबाट छुटेका बसलाई त्यहीँको प्रहरी प्रशासनले रोक्न नसक्दा बिच बाटोमा यात्रु अलपत्र पार्न पनि नसकिने भन्दै व्यवहारिकता हेरेर चेतावनी दिँदै छाड्ने गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘समस्या छ, लामो बाटो तय गरेर यात्रु लिएर आएका बसहरुलाई के गर्नु व्यवहारिकता हेरेर छाड्नुपर्छ, नियम नमान्ने परिपाटीले समस्या भएको छ’, उहाँले भन्नुभयो । मालवाहक सवारी भने निर्बाध रुपमा संचालन हुने गरेको बताउनुभयो ।
उता, जिल्ला प्रशासन कार्यालय दाङको सवारी पास वितरण शाखाले प्रशासनबाट शुक्रबार १२ वटा मात्रै पास जारी भएको जनाएको छ । पास वितरण शाखाका अधिकृत नवराज शर्माले १२ वटा सवारी पास मध्ये ३ वटा ठूला बसको र ९ वटा साना सवारीको मात्रै रहेको बताउनुभयो । उहाँका अनुसार हेटौडा, धादिङ र रुकुमका लागि मात्रै यात्रुवाहक बसको सवारी पास जारी भएको छ ।
उहाँले काठमाडौँ जाने बसका लागि पास नदिईएको प्रष्ट पार्नुभयो । शुक्रबार ३ बजे कार्यालय बन्द भईसकेको थियो । बसका कर्मचारीले पनि काठमाडौंका लागि ललितपुरबाट पनि पास बनाएका थिएनन् । यसले प्रहरी प्रशासनकै खिल्ली उडाएको देखिएको छ । कोरोना महामारीका बेलामा सार्वजनिक यातायात जिल्ला बाहिर संचालनको अनुमति दिईएको छैन । तर, पास लिएर सिमित यात्रु बोक्न सकिने प्रावधान भएपनि यसको पालना हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाबाट जारी हुने पास र अनुगमनको विषय प्रभावकारी रुपमा भईरहेको बताउनुभयो । तर, कार्यान्वयन तहमा यो अभ्यास भने प्रभावकारी रुपमा भएको पाइएको छैन ।
बस भरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुसँग दोब्बर बढी भाडा असुल्ने काम हुँदा पनि प्रहरी प्रशासनले यातायात व्यवसायीसँग साँठगाँठ गर्दै आवागमनमा सहयोग गरिरहेको देखिएको छ । दाङमा जिल्ला बाहिरबाट दैनिक कम्तिमा ८ वटाभन्दा बढी सार्वजनिक सवारी आउने गरेका छन् ।
मापदण्ड अपनाउन नसक्दा र मनलाग्दी जिल्ला बाहिरबाट यसरी यात्रु बोक्दा कोरोनाको जोखिम उच्च रहेकाले बेलैमा स्थानीय प्रशासन र सरोकार निकायले गम्भीर रुपमा यसको नियमन गर्नुपर्ने नागरिकहरुको आग्रह छ ।।