२०७८ माघ ९ गते आइतवार

सार्वजनिक सवारी सञ्चालनको तयारी, जोरबिजोर प्रणाली लागू हुने



१४ असार, काठमाडौं –
सरकारले काठमाण्डौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी साधन संचालन गर्न दिने तयारी गरेको छ । आईतवार उपत्यकाका तिन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चलाउन दिनेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसबारे थप निर्णय सोमवार बस्ने बैठकले गर्ने उहाँको भनाई छ ।

सोमवारको बैठकले उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको तीनवटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको प्रजिअ पराजुलीले बताउनुभयो ।

प्रजिअ पराजुलीले उपत्यकामा संक्रमण दर केहि घटेको भएपनि विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरु समेत आएको उहाँले जानकारी दिनुभयो । अहिले निजी सवारी साधनहरु जोरबिजोर प्रणालीमा चलेपनि सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन । यातायात व्यवसायीहरुले तत्काल सार्वजनिक यातायात सञ्चालन गर्न सरकारलाई दवाब दिरहेका छन ।।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्