२०७८ साउन १६ गते शनिवार

५ करोड बढी हिनामिना गरेको आरोपमा राप्तिका अध्यक्षसहित २५ जनाविरूद्ध मुद्दा



१० असार,घोराही –
पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरूद्ध मुद्दा परेको छ । राप्ती गाउँपालिका वडा नंम्वर ८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै कर्मचारी र पदाधिकारीविरूद्ध दाङ देउखुरी जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

उजुरीपछि सहकारी संस्थाका सह–लेखापाल २९ वर्षीय विक्रम राना, उनकी २७ वर्षीया श्रीमती उषा राना थापा, ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी र लेखापाल ३७ वर्षीय विकास न्यौपाने पक्राउ परेका छन् । रकम हिनामिना गर्ने मुख्य व्यक्ति सह लेखापाल राना देखिएको हुँदा मिलेमतोको आशंकामा श्रीमतीलाई पनि पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ । जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान हिजोदेखि सुरू भएको जानकारी दिनुभयो ।

हिजो दुई जनाको बयान सकिएको र पर्सीदेखि थुनछेक बहस सुरू हुने जिल्ला अदालतका स्रेस्तेदार गिरीले जानकारी दिनुभएको छ । सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीलाई फरारको सूचीमा राखिएको छ । सुवेदी सहकारीको लेखा सुपरीवेक्षण समिति अन्तरगत रहेको हुँदा उहाँविरूद्ध पनि मुद्दा परेको हो ।

सहकारी मर्ज हुनुभन्दा पहिले २०७१ सालदेखि सुवेदी सुपरीवेक्षण समितिमा हुनुहुन्थ्यो । कमला पौडेल, युवराज भुसाल, राम पोखरेललगायत सहकारी संस्थाका पदाधिकारी, लेखा परीक्षक, सञ्चालक समितिका पदाधिकारीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । पक्राउ नपरेका २० जना फरार सूचीमा राखिएको अदालतका सूचना अधिकारी गिरीले जानकारी दिनुभयो । फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आफूविरूद्ध मुद्दा परेकोबारे जानकारी पाएको र अदालतले बोलाए उपस्थित हुने जानकारी दिनुभयो । साधै अध्यक्ष सुवेदीले सहकारीको अनियमितता बारेको अनुसन्धानमा आफुले सतप्रतिशत सघाउने बताउनु भएको छ ।। फरककोणबाट

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्