२०८० असोज १७ गते बुधवार

कक्षा ११ र १२ का छवटै विषयका पुस्तक निःशुल्क



१० असार,काठमाडौँ । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषय अध्ययन गर्छन् ।
सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा÷गणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ ।

ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन् । यस पटक अनिवार्य विषयतर्फ कक्षा ११ को पाठ्यपुस्तक छपाइका क्रममा रहेको र कक्षा १२ को पाठ्यपुस्तक छपाइ कार्य सुरु हुन नसकेको केन्द्रले जनाएको छ । २०७८ सालको शैक्षिक सत्रमा कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । गत वर्ष कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिनुभयो । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्