२०८० असोज ६ गते शनिवार

नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार



९ असार, दाङ – दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारेको छ । स्नातक तहको प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारी विषयगत समितिमा पठाइएको विश्वविद्यालयले जनाएको छ ।

विषयगत समितिबाट स्वीकृत गरि पाठ्यक्रम चिकित्सा सेवा आयोगमा पठाइने र आयोगले स्वीकृति दिए लगत्तै पठनपाठन शुरु गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो । उपकुलपति लामिछानेका अनुसार आयुर्वेद स्नातक तहसमेत अध्ययन गराइरहेको विश्वविद्यालयका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा समस्या हुने छैन ।

विश्वविद्यालयले पाठ्यक्रम अध्यापनका लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढाएको छ । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार दश करोडको लागतमा बेलझुण्डीमा भवन निर्माण गरिने छ । आयुर्वेद अध्ययन संस्थान अन्तर्गत नै कक्षा सञ्चालन गरिनेछ । विश्वविद्यालयले वैदिक कृषि र वास्तु इन्जिनियरिङको पाठ्यक्रम तयार पार्न थालेको छ ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति शिवहरी मरहठ्ठा को कार्यकालमा तयार पारिएको वैदिक कृषि पाठ्यक्रमलाई विस्तृत रुप दिई तयार पार्न थालिएको हो । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार वैदिक कृषि पाठ्यक्रम तयार पारी आगामी वर्षदेखि नै कार्यान्वयनमा ल्याइने भएको छ ।। उज्यालोबाट

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्