८ असार,घोराही –
निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित ९ अर्ब खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि ८ अर्ब ९८ करोड खर्च हुने अनुमान गरेको हो । आयोगले मतदानका लागि बनाइने बुथदेखि मतगणना सम्मका लागि यो रकम खर्च हुने अनुमान गरेको छ ।
आयोगले सरकारसँग निर्वाचनका लागि बजेट माग गरेपछि आवश्यक सामग्री खरिदका लागि टेन्डर गर्ने तयारी समेत गरिरहेको छ । खर्चका विषयमा छलफल भइरहेको र एक–दुई दिनमा टुंगो लाग्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।
आयोगले अघिल्ला निर्वाचनमा भन्दा यसपटक फरक रूपमा निर्वाचनको व्यवस्थापकीय तयारी गरिने जनाएको छ । यस वर्ष कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै आयोगले अघिल्ला निर्वाचनमा भन्दा फरक रूपमा आवश्यक तयारी गरिने जनाएको हो ।।