२०८० असोज १७ गते बुधवार

सल्यानमा मृत फेला परेकी महिलाको बलात्कारपछि हत्या हुन सक्ने आशंका



५ असार, दाङ –
सल्यानमा मृत अवस्थामा फेला परेकी महिलाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ। दार्मा गाउँपालिका वडा नं ५ गौतेकी ३० वर्षीया खिमा खड्का असार १ गते बिहान स्थानीय ठोलो खोलामा मृत अवस्थामा फेला परेकी थिइन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले घटना शंकास्पद रहेको बताउनुुभएको छ। घटनास्थल वरिपरि खिमाको मृत्यु खुल्ने त्यस्तो कुनै सूचना फेला नपरेको थापाले जानकारी दिनुुभयो।

शव पोष्टमार्टम रिपोर्ट आइतबार (भोली) आइपुग्ने हुँदा त्यसपछि खिमाको मृत्युबारे स्पष्ट भन्न सकिने डिएसपी थापाले बताउनुुभयो। प्रहरीका अनुसार जेठ ३१ गते बेलुकादेखि खड्का हराएकी थिइन्।

खिमाका श्रीमान खिमबहादुर खड्का श्रीमतीको मृत्युको खबर पाएपछि शुक्रबार मात्रै घर आइपुगेका छन्। रोजगारीको सिलसिलामा खिमबहादुर झन्डै आठ महिनाअगाडि भारतको सिमला गएका थिए। खड्काको परिवारले खिमाको बलात्कारपछि हत्या भएको भन्दै शव बुझ्न मानेका छैनन्।

खिमाको शव जिल्ला अस्पताल खलंगामा रहँदै आएको छ। डिएसपी थापाले घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताउनुुभयो।।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्