२०७८ माघ ९ गते आइतवार

रोल्पामा उत्पादित तरकारीले बजार नपाउँदा पशुको आहार बन्दै



३१ जेठ,घोराही – रोल्पाको रुन्टीगढी गाउँपालिकाका किसानहरुले उत्पादन गरेका तरकारी बालीनाली बारीमै कुहिन थालेका छन् । किसानहरुले उत्पादन गरेका बन्दागाभी, सिमी, टमाटर जस्ता तरकारी बालीनालीले उचित किसिमको बजार नपाउँदा बारीमैँ कुहिएर जान थालेको हो । बढ्दो महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको कारणले उत्पादित तरकारी वजार सम्म लिन नसक्दा यस्तो समस्या देखिएको स्थानीय किसानहरुको गुनासो छ ।

त्यसो त बजारमा तरकारीको अभाव रहेको छ । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ७ फुर्साबाङ र खाक्सिबनका किसानहरु विशेष गरी यो समयमा मारमा परेका छन् । यहाँका कृषकहरुले आफ्नो बारीमा उब्जाएका बन्दा, टमाटर जस्ता अन्य बालीनालीहरुले उचित किसिमको बजार नपाए पछि घरपालुवा पशुचौपायालाई दिने र कतिपय खोलामा फ्याक्नु पर्ने बाध्य भएको स्थानीय कृषक हितमान रेउले बताउनुभयो । आफ्नो परिवार पाल्नको लागि मुख्य स्रोत नै कृषि भएको उहाँको भनाइ रहेको छ । विगत १० वर्षदेखि नै यहीँ पेशामा रमाउदैँ आउनुभएका उहाँले अहिलेसम्म यस्तो समस्या अन्य वर्षहरुमा नदेखिएको पनि बताउँनुभयो । यसरी आफुले उब्जनी गरेको तरकारी बालीले राम्रो बजार नपाउँदा आफ्नो मेहेनत खेर गएको उहाँ बताउनुहुन्छ । करिब ६० हजार लागानीमा लागाइएको तरकारीले उचित भाउ नपाए पछि केहीँ कुहिँएर जाने र केहीँ पशुचौपायालाई दिने गरेको पनि उहाँले बताउनुभयो ।

त्यसो त यहाँ उत्पादित तरकारीको आयात दाङ, बुटल, नेपालगञ्ज लगायतका शहरहरुमा हुने गर्दछ । लामो समयदेखि नै स्थानीय सरकारलाई उचित बजारीकरणको व्यवस्था गर्न अनुरोध गरे पनि कुनै समस्याको हल नभएको अर्का कृषक शेर बहादुर रोकाले गुनासो पोख्नुभयो । बाटोको अभावका कारण यस्तो समस्या झेल्नुपरेको उहाँको भनाइ छ । दाङसम्म लैजान पाए उत्पादित वस्तुहरुले बजार पाउथ्यो तर बाटोमा कहिँ पहिरो गएको कतैँ खाल्डाखुल्डी मात्रै परेकाले यसमा स्थानीय तहलाई जानकारी गराउँदा पनि कुनै पहल नगरेको उहाँको गुनासो रहेको छ । अहिले प्रति केजी ५ रुपिँयाँका दरले विक्रि गरिरहेको बताउँदै उहाँले स्थानीय सरकारले क्षतिपुर्तिको व्यवस्था गर्छ कि भन्ने आशा रहेको उहाँ बताउनुहुन्छ । करिब दश विगाह जमिनमा उत्पादन गरिएको तरकारी बालीले उचित किसिमको बजार नपाउँदा चिन्तामा पिरोलिएको उहाँको गुनासो छ ।

यता जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष जंग बहादुर घर्तिले भने यस्तो समस्या सबै निषेधाज्ञाको कारणले उचित किसिमको निर्यात गर्न नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो यो मेरो वडामा मात्र हैन यस्ता समस्या अन्य ठाउँमा पनि छ । साथै उहाँले फुर्साबाङ र खाक्सिबनका किसानहरुले गुनासो गरे पछि सवारी पासको कागजपत्र बनाईदिए पनि उतैबाट आयात नभए पछि निर्यात गर्न मुस्किल परेको घर्तिले बताउनुभयो । उहाँले अहिले किसानहरुलाई क्षतिपुर्ति दिने वा नदिने भन्ने विषयमा गाउँपालिकामा पत्र परेको र छलफल भए पछि थाहाँ हुने पनि उहाँले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्