२०७८ माघ ९ गते आइतवार

एसईईको नतिजा साउन १५ भित्र प्रकाशन गर्ने कार्यसूची



३१ जेठ, दाङ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण कार्य सकेर आगामी साउन १५ भित्र नतिजा प्रकाशन गर्ने गरी कार्यसूची बनाएको छ।

विद्यालयले गरेको विद्यार्थीको आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारीका साथ काम सुरु हुने बोर्डले जनाएको छ।

बोर्डले विद्यार्थी मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको हो। सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन हुनेछ।

कार्यविधिअनुसार विद्यालयले असार २० भित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ। विद्यालयले २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्यांकनसम्बन्धी अभिलेख जिल्ला समन्वय एकाइमा बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको छ।

समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ। सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएको १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने बोर्डले जनाएको छ।

विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन विद्यालयले नै गरे पनि नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ ।

बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्यांकन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाउनु पर्नेछ ।

समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्यांकन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिनेछ ।

बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अंक दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ । विद्यार्थीको अत्यधिक मूल्यांकन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्यांकन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्