२०८० असोज १७ गते बुधवार

दाङका पालिकाहरु आगामी आर्थिक वर्षका लागी ल्याउने बजेटको तयारीमा



२० बैशाख,घोराही –
दाङका पालिकाहरु आगामी आर्थिक बर्षका लागी ल्याउने बजेटको तयारीमा जुटेका छन् । कोरोना भाईरसको महामारीका कारण आगामी आर्थिक वर्षका लागी सरकारी नीति–नियमले दिएको समयसीमा भन्दा निकै ढिलो स्थानीय तहहरु बजेटको तयारीमा जुटेका हुन् ।

संविधानमा भएको व्यवस्था अनुसार स्थानीय तहहरुले असार १० गतेसम्म नीति कार्यक्रमसहित बजेट ल्याइसक्नु पर्ने हुन्छ । संघीय सरकार, प्रदेश सरकारले बजेट ल्याएपछि स्थानीय सरकारले बजेट ल्याउदै आएका छन् । त्यसैले अहिले योजनाको छनोट तथा बजेट विनियोजनको आन्तरिक तयारी सुरु गरिएको दाङका स्थानीय तहहरुले बताएका छन् । कोरोनाका कारण यसवर्ष वस्तीस्तरमा पुग्न नसकिए पनि वडा कार्यालय तथा विषयगत समितिबाट योजना छनोट गरिने जनाईएको छ ।

घोराही उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि बजेटको आन्तरिक तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताउनु भयो । अहिले अनौपचारिकरुपमा बजेटको तयारी थालिएपनि आव छिट्टै औपचारिकरुपमा सुरु गरिने उहाँले बताउनु भयो । प्रदेश सरकारबाट आउनुपर्ने सिलिङ पूर्ण रुपमा आइनसकेको उहाँले जानकारी दिनुभयो ।

उता तुलसीपुर उपमहानगरपालिकाले पनि बजेटको तयारी गरेको जनाएको छ । उपमहानगरपालिकाले बजटेको तयारी थालेको योजना तथा बजेट महाशाखाले जानकारी दिएको हो । योजना छनोटका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिएको महाशाखाको भनाइ छ । नगरपालिकाले आउँदो आर्थिक वर्षमा स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार विकास लगायतलाई प्राथमिकता दिएको जनाएको छ ।

यता लमही नगरपालिकाले असार ९ गते बजेटको मिति समेत तय गरिसकेको जनाएको छ । स्थानीय सरकार सञ्चान ऐन २०७४ को स्थानीय सरकार तहको वार्षिक योजना र बजेट तर्जुमा पूर्वतयारी स्रोत अनुमान तथा बजेट सीमा निर्धारण अनुसार ७ चरणमा योजना छनोट गर्ने व्यवस्था रहेकोको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्