१६ जेठ , दाङ – सल्यानका एक युवाले जिल्लामा आवश्यक पर्ने सम्पूर्ण अक्सिजन सिलिण्डर एक्लै रिफिल गरिदिने घोषणा गरेका छन् ।शारदा नगरपालिका वडा नं. ५ घर भइ हाल जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत सुनिल शाहले सल्यान जिल्लाका सबै स्थानीय तह र सरकारी अस्पतलालाई आवश्यक अक्सिजन सिलिण्डर एक्लै निशुल्क रुपमा रिफिल गरिदिने घोषणा गरेका हुन ।
सल्यान जिल्लाका दशवटै स्थानीय तहहरुमा कोरोना संक्रमित बिरामीहरुका लागि अक्सिजन सिलिण्डर रिफिल गर्न समस्या भए आफुले सहयोग गर्ने र त्यो सबै रकम आफुले बेहोर्ने शाहले सामाजिक सञ्जाल मार्फत घोषणा गरेका छन् । उनले विरामीले व्यक्तिगत रुपमा भन्दापनि आवश्यक पालिकाले सम्पर्क गरेमा सहजरुपले सहयोग गर्न तयार रहेको बताएका छन ।
त्यसका साथै उनले नीजि हस्पिटलहरुलाई समेत रिफिलमा समस्या भए आफुले सघाउने तर, उनीहरुको हकमा रिफिलको पैंशा उनीहरुले नै तिर्नुपर्ने बताएका छन् ।शाहले यसअिघ सल्यानमा युवाहरुले कोरोना संक्रमित बिरामीहरु अस्पतालहरुमा अक्सिजनको अभावमा छटपटाई रहँदा उनीहरुले संकलित रकमबाट नयाँ सिलिण्डर खरिद गर्न पनि सघाएका थिए । चरम अभावको समयमा जिल्लाका युवाहरुले देश बिदेशबाट प्राप्त सहयोगबाट नयाँ अक्सिजन सिलिण्डर खरिद गर्न खोजेपनि कतै नपाएपछि शाहलाई आग्रह गरे लगतै उनले बीरगञ्जका चिनजानका ब्यापारीसंग सम्पर्कगरि तुरुन्तै नयाँ अक्सिजन सिलिण्डर सल्यान पु¥याउन भूमिका खेलेका थिए ।