२०८० असोज ६ गते शनिवार

आज गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिद्वारा ४३० कैदीको सजाय मिनाहा



१५ जेठ,घोराही –
आज गणतन्त्रको दिवस, देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।
नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको अवसरमा शुभकामना दिँदै समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले चार सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले चार सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिनुभएको हो ।

दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले पनि शुभकामना सन्देश दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्