२०७८ माघ १३ गते बिहिवार

दाङका अवैध क्रसर उद्योग तत्काल बन्द गर्न प्रशासनको निर्देशन



९ जेठ,घोराही । जिल्ला प्रशासन कार्यालय दाङले बालुवा प्रशोधन उद्योगहरुलाई दर्ता अनुसार नै उद्योग चलाउन पुनः निर्देशन दिएको छ । बालुवा प्रशोधनका नाममा उद्योग खोली क्रसरको समेत काम गर्दै गैरकानुनीरुपले चलेको पाईएपछि गतसालको मंसिरमा १० वटा उद्योग स्थानिय प्रशासनले बन्द गरेको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा गृहमन्त्रालयले बनाएको टोलीले दाङका सबै बालुवा प्रशोधन र क्रसर उद्योगको अनुगमन गरेको थियो । त्यस क्रममा १० वटा उद्योगले बालुवा प्रशोधनको अनुमती लिएर क्रसर उद्योग चलाएको पाएपछि मंसिर ४ गते पत्राचार गर्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

केही दिनको समय दिदै प्रशासनले क्रसर बन्द गर्ने र अटेर गरे विजुली, पानी लगाएतका सेवाहरु बन्द गर्ने चेतावनी दिएको थियो । तर पछिल्लो समय ति उद्योगहरु पूर्बवत क्रसरकै अबस्थामा चलेको र स्थानिय प्रशासनकै संरक्षण रहेको भन्ने कुराहरु बाहिर आएको थियो । आज प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले ती १० उद्योगहरुको नाम सार्वजनिक गर्दै सरकारको निर्देशन पालना नगरे कार्वाहीमा उत्रिने फेरी चेतावनी दिनुभएको छ । जस अन्तरगत विजुली, खानेपानी सेवा बन्द गर्ने, उद्योग सञ्चालकको बैंक खाता र कारोबार समेत रोक्ने प्रशासनको पत्रमा उल्लेख छ ।

ध्यानआकर्षण गराईएका उद्योगहरुमा साविक विजौरी ४ को स्वर्गद्धारी प्लान्ट प्राली, विजौरी ६ को जनविश्वास वासिङ उद्योग, तुलसीपुरको गणेश बालुवा वासिङ उद्योग, तुलसीपुरकै के एण्ड एस बालुवा प्रशोधन उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, सतबरीया २ स्थित बगारबाबा बालुवा प्रशोधन उद्योग, लमही ९ को पाण्डबेश्वर बालुवा बासिङ उद्योग, बेला स्थित जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, बेला कै पूर्णागिरी एगृगेट बालुवा प्रशोधन उद्योग र बबई ६ स्थित कृप्रभिज्ञा बालुवा बासिङ उद्योग रहेका छन् ।।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्