२ जेठ,रोल्पा — कोरोना कहरको मौका छोपेर रोल्पामा अनलाइन सेवाको दुरुपयोग गरी ठगी गर्ने बढेका छन् । जिल्ला निषेधाज्ञा र सिल गरिएकाले सेवाग्राही बैंकसम्म पुग्न नसकिरहेको बेलामा सूचना प्रविधिको दुरुपयोग गर्ने सक्रिय बनेका हुन् ।
जिल्ला प्रहरीले पहुँचवाला र चिनिएका व्यक्तिहरूको नाममा सामाजिक सञ्जाल चलाएर तिनका आफन्त र साथीभाइबाट रकम माग्नेविरुद्ध उजुरी परेको जनाएको छ । केही दिनअघि यस्तै समूहबाट पत्रकार महासंघ रोल्पाका पूर्वअध्यक्ष खेम बुढामगरसमेत ठगिएको उजुरी परेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । उजुरीपछि छानबिन र अनुसन्धान थालिएको उनले बताएका छन् ।
बुढामगरको उजुरीअनुसार केही दिनअघि रोल्पाको राङ्सी घर भएका उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दिपेश पुनमगरको फोटोसहितको फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनले उक्त अनुरोध स्वीकार नगरेपछि म्यासेन्जरबाट च्याटमार्फत लामो कुराकानी गरी साथी बन्न आग्रह गरिएको थियो । साथी बनेपछि म्यासेन्जरमार्फत कुराकानीको क्रममा बुढाको मोबाइलमा चार अंकको कोड नम्बर आयो । बुढाले सोचे– फेसबुकमा कनेक्ट भइरहेको छ होला । तर, कुरा त्यस्तो रहेनछ । परिणाम उल्टो भयो ।
बिहीबार साँझ बुढाको फेसबुक म्यासेन्जरमा विवेक नामका भान्जासँग च्याट भएको थाहा पाए आफ्नै मोबाइलमा । ‘भान्जा काठमाडौंमा मेरो एक जना साथीलाई पैसा पठाउनुपर्ने भयो’ भनेर भोलिपल्ट मोबाइल बैंकिङबाट फिर्ता गर्ने च्याटमार्फत वचन दिएपछि उनले पैसा पठाएका थिए । भान्जा विवेकले मामाको विश्वास गरेर क्विक रेस्पोन्स कोडबाट १५ हजार ९ सय ५० रुपैयाँ पठाइदिएको र पैसा निकाल्न ‘टार्गेट एचआर सोलुसन सिनामल काठमाडौं’ र ‘रोसन कवाडी पसल’ नामको क्विक रेस्पोन्स कोड प्रयोग भएको खुल्न आयो ।
बुढाको फेसबुक म्यासेन्जरबाट विवेक जस्तै उनका फेसबुकमा अन्य साथीहरूलाई उस्तै प्रकारको आग्रह गरिएको थियो । यसरी पैसा मागिएकामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्वअध्यक्ष महेश न्यौपाने, पूर्वउपाध्यक्ष हिराबहादुर घर्तीमगर, पत्रकार मीनराज रोका र रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदी पनि थिए । मीनराजले फोन गरेपछि मात्रै बुढाले आफ्नो फेसबुक आईडी ह्याक गरेर पैसा मागिएको बारे थाहा पाएको बताए । निष्पक्ष छानबिन गरेर सर्वसाधारणको पैसामा भइरहेको बदमासीको वास्तविकता बाहिर ल्याउनुपर्ने आवश्यकता भएको उनले बताए ।
करिब एक महिनाअघि रोल्पा नगरपालिका–६ माडीचौरकी एक महिलाले एनआईसी एसिया बैंककै खातामा २ लाख ७४ हजार रुपैयाँ ह्याकरमार्फत जम्मा गरेकाले उक्त रकम गुमाएको बताइन् । प्रहरीले अझै उक्त विषयमा अनुसन्धान जारी राखेको बताएको छ । यस्तै केही समयअघि कृषि विकास बैंक उपशाखा लिबाङमा कार्यरत महेन्द्र शर्माको पनि फेसबुक म्यासेन्जर दुरुपयोग गरेर साथीहरूबाट पैसा मागिएको थियो । यसबारे प्रहरीमा उजुरी परेको छ । आफ्नो तस्बिर प्रयोग गरेर फेसबुक लगायत सामाजिक सञ्जालमा आईडी बनाउने र पैसा माग्ने गरेको उपराष्ट्रपति पुत्र दिपेश पुनले बताए । ‘मेरो फोटो राखेर फेक आईडी बनाई मानिसहरूलाई सताउने काम विभिन्न गिरोहबाट भइरहेको रहेछ,’ उनले भने, ‘यसबाट सबै सजग र सचेत रहनु हुन आग्रह गर्छु ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।