२४ बैशाख,घोराही ।
तुलसीपुरमा विरामीलाई सहजताका लागी आजदेखी अटोलाई एम्बुलेन्समा रुपमा संचालन गर्न थालिएको छ । कोरोना संक्रमणदर रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण बिरामीले पछिल्लो समय सहजरुपमा एम्बुलेन्स सेवा पाउन नसकेपछि समयमै अस्पताल पुग्न सहजताका लागि अटोलाई एम्बुलेन्सका रुपमा संचालन गर्न थालिएको हो ।
विपन्न नागरिकले सुलभ भाडादरमा बिरामीलाई अस्पताल लैजान÷ल्याउन सहजताका लागि अटो एम्बुलेन्स संचालनमा ल्याएको अटो एम्बुलेन्स संचालन अभियानका संयोजक मोहन सुनारले जानकारी दिनुभयो ।
उहाँसहित तुलसीपुरका चार जना युवा दिपक कुमाल, सुनिलबावु डाँगी र अजय दुलालले संयुक्तरुपमा अटो एम्बुलेन्स संचालनको अभियान शुभारम्भ गर्नुभएको हो । अटो एम्बुलेन्सले तुलसीपुरका आसापासको क्षेत्रमा सेवा दिने र साविकमै लाग्दै आएको भाडा लिने अभियानका संरक्षक दिपक कुमालले जानकारी दिनुभयो ।
तुलसीपुरमा अहिले तत्कालका लागि ९ वटा अटोले बिरामीलाई एम्बुलेन्सको सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । दिउँसोको समयमा पाँच वटा र साँझको समयमा ४ वटा अटोले सेवा प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।
आवश्यकताको आधारमा अटोहरु थप गर्दै लगिने संरक्षक कुमालले बताउनुभयो । अटोमा स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड पूर्णरुपमा पालना हुने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकासंगको समन्वयमा अटो एम्बुलेन्स संचालनमा ल्याईएको हो ।।