२१ बैशाख,घोराही ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले संक्रमित पत्रकारहरुका लागि छ वेडको आइसोलेशन तयार गरेको छ । महासंघको आफ्नै भवनमा अक्सिजनसहितको छ वेड निर्माण गरिएको महासंघका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनुभयो ।
महामारी फैलिदै गइरहेका बेला जोखिमपूर्ण रिपोटिङ गर्नुपर्ने र उपचारका लागि सहजै वेड पाउने अवस्था नभएपछि महासंघले आफ्ना सदस्यहरुका लागि आइसोलेशन निर्माण गरेको हो ।
आइसोलेशन स्थापनालगत्तै बसेको महासंघको बैठकले महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी संयोजक र कार्य समिति, सल्लाकार, पूर्व अध्यक्ष एवं सञ्चार संघ संगठनका प्रमुख रहेको मूल समिति गठन गरिएको छ ।
यसैगरी उपाध्याक्ष बसुन्धरा गोतम संयोजकत्वमा कार्यसमिति सदस्य कुलदीप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजकत्वमा सचिव आर.के.शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति
सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आईसोलेशन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।
यसैगरी वैठकले कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुका लागि पनि आइसोलेसन अभाव हुनसक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनका लागि महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । त्यसका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि। घोराही शाखामा रहेको खाता न. ०२७०१०००२६८४९७०००००१ मा आर्थिक
सहायताका लागि सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तिहरुलाई अपील गर्ने निर्णय गरेको वैठकपछि सचिव आरके शितलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।