२०८० असोज १७ गते बुधवार

दाङमा अक्सिजन बेड बनाउन लुम्बिनी प्रदेश सरकारले दियो बजेट



१३ बैशाख,घोराही । लुम्बिनी प्रदेश सरकारले दाङ सहित बुटवल, नेपालगंज र भैरहवामा अक्सिजन बेड निर्माण गर्न कोभिड अस्पतालहरुलाई बजेट उपलब्ध गराउने निणर्य गरेको छ।

कोभिड १९ का बिरामीको संख्या बढेपछि अस्पतालमा बेड अभाव भइरहेको बेला प्रदेश सरकारले अक्सिजनसहितको बेड बनाउने निर्णय गरेको हो। सोमबार कोरोना भाइरस उपचार तथा उपचार रोकथाम कोषको निर्देशक समितिको बैठकले उक्त निणर्य गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरि तत्काल उपलब्ध गराउने निणर्य गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारबाट बुटवल, दाङ र नेपालगंजले ५० लाख रुपैंयाँका दर र भैरहवास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध हुनेछ। उक्त रकम उपलब्ध गराउने काम सोमबारदेखि नै सम्बन्धित मन्त्रालयले गर्ने केसीले बताए।

त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा लुम्बिनी प्रदेश सरकारले १० करोड रुपैयाँ थप गर्ने निणर्य गरेको छ।

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्