२०८० असोज १७ गते बुधवार

कोरोना नियन्त्रणका लागि १९ अर्ब बढि खर्च, संक्रमण नियन्त्रण बाहिर



१३ बैशाख,काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि मात्र १९ अर्ब रुपैयाँ बढि खर्च गरेको छ । पछिल्लो १० महिनामा संघीय सरकारले ८ अर्ब ५९ करोड ९८ लाख बढि खर्च गरेको छ ।

त्यस्तै प्रदेश सरकारले २ अर्ब ९२ करोड ३ लाख र स्थानीय सरकारले ८ अर्ब १९ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले संक्रमण नियन्त्रणका लागि गत आर्थिक वर्षमा ११ अर्ब ८६ करोड ९२ लाख र चालु आर्थिक वर्षमा ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै कोरोना उपचार तथा नियन्त्रकका लागि चालु आर्थिक वर्षको ६ महिनामा मात्र ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च संघ प्रदेश र स्थानीय तहबाट भएको हो ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि ठूलो खर्च गरे पनि संक्रमण नियन्त्रण बाहिर जाने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार गत चौबीस घण्टामा मात्र १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै शनिबार १४ र शुक्रबार ५ जनाको मृत्यु भएको थियो । यसै गरी यो तीन दिनभित्र थप ३७ जना मृतकमा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय ६४ पुगेको छ । हाल नेपालमा दैनिक मृत्युदर १।०५ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार १ सय जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । यो संक्रमणदर बढेर ३०।९७ प्रतिशत पुगेको हो । यो अघिल्लो दिनको तुलनामा करिब १ प्रतिशत बढी हो । गत २४ घण्टामा १० हजार ७८ वटा नमुना परीक्षण भएका थिए ।

नेपालमा कुल सङ्क्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ । देशभरिमा १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित छन् । तीमध्ये २ सय ५२ जना आइसियुमा, ६५ जना भेन्टिलेटरमा र संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जनाको उपचार भइरहेको छ ।श्रोतःआजको अर्थ

प्रकाशित मिति : २०७८ बैशाख १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्