२०७८ जेष्ठ ४ गते मङ्गलवार

पश्चिम दाङमा शिक्षकको कुटाईबाट बालक घाईते



घोराही, ९ बैशाख ।
दाङमा शिक्षकको कुटाईबाट ९ वर्षीय बालक घाईते भएका छन् । बबई गाउँपालिका ३ स्थित एभरेष्ट एकेडेमी स्कुलका शिक्षक केशर केसीले कक्षा दुईमा अध्यनरत नौ वर्षीय बालक नवराज डाँगीलाई कुटपिट गरेको पीडित परिवारले जानकारी दिएको छ । कालोपाटीमा लेखेको गणित विषयलाई कापीमा सार्न ढिलो गरेको भन्दै शिक्षकले पछाडि ढाडमा मुट्कीले हानेको बालकका बुवा कृष्ण डाँगीले बताउनुभयो ।

वैशाख ६ गते शिक्षकको कुटपिटबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरिएको छ । कुटपिटबाट घाइते बालकलाई सास फेर्न गाह्रो हुने र ठाडो गरेर हिड्न अप्ठेरो हुने गरेको बुवा कृष्णले बताउनुभएको छ । शिक्षकले यसअघि पनि अन्य बालबालिकालाई कुटपिट गरेकाले विद्यालयबाट तत्काल हटाउनुपर्ने, बालकको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने माग पीडित परिवारले राखेको छ ।

विद्यालयका प्रिन्सिपल मोतीलाल केसीले बालकको मेरुदण्ड सुन्निएको जानकारी दिदै आगामी शैक्षिक सत्रदेखि हटाउने बताउनुभयो । अहिले परीक्षा नजिकै आएकाले परीक्षा सकेर आगामी शैक्षिक सत्रदेखि हटाउनेगरी अभिभावकसँग सल्लाह गरिरहेको प्रिन्सिपल केसीले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्