२०७८ जेष्ठ ४ गते मङ्गलवार

प्रशासन कार्यालय गुल्मीमा श्रद्धाञ्जलीपछि परिवारलाई बुझाईयो शव



२ वैशाख,गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई जिल्ला प्रशासनको परिसरमा राखी श्रद्धाञ्जली दिइयो। श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सबै भावुक देखिन्थे।

बुधबार लु १ज १६५५ नम्वरको जिप स्वर्गद्धारी नगरपालिका वडा नम्वर तीन रुमालेमा दुर्घटना हुँदा प्रशासकीय अधिकृत श्याम न्यौपाने ,कम्प्युटर अपरेटर सूर्य पन्थी,मुद्धा शाखाका खरिदार इश्वरी भण्डारी, नागरिकता फाँटका खरिदार यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो।

घाइतेहरु सात जनाको काठमाडौंको छाउनी अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

बिहीबार दिउँसो मृतकहरुको शवलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको परिसरमा राखी श्रद्धाञ्जली अर्पण गरेपश्चात् शवलाई आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

प्रशासकीय अधिकृत श्याम न्यौपानेको शवलाई भने प्युठानबाटै आफन्तको जिम्मा लगाइएको थियो। श्रद्धाञ्जली दिनका लागि सर्वसाधरणदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुको उपस्थिति थियो।

प्रशासकीय अधिकृतसहित चार जना कर्मचारीको जिप दुर्घटनामा मृत्यु भएपश्चात बिहीबार जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा बन्द रहेको थियो। जिल्ला प्रशासन कार्यालय र गुल्मी नै शोकमा रहेकाले मृतकको शोक स्मृतिमा प्रशासन एक दिन बिहीबार पुर्ण रुपमा बन्द रहेको प्रशासकीय अधिकृत उद्धब पन्थीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै शुक्रबार ३ गतेदेखि सोमबार ६ गतेसम्म शान्ति ,सुरक्षा र मुद्धासम्बन्धी कामहरु बाहेक अन्य सेवा प्रवाह नहुनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्