२७ चैत,घोराही ।
दाङको कोरोना विशेष अस्पतालमा एक हप्ताको अवधिमा सातजना बिरामी उपचारका लागि भर्ना भएका छन् । दुई महिनायता एक दुईजना मात्रै बिरामी रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीमा यसै हप्ता मात्रै सातजना बिरामी उपचारका लागि भर्ना भएको अस्पतालका व्यवस्थापक द्रोण केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार पाँचजना आइसियु र दुईजना बिरामी एचडिसियुमा उपचाररत रहेका छन् । सातजनामध्ये तीन महिला र चारजना पुरुष रहेको व्यवस्थापक केसीले जानकारी दिनुभयो । जिल्लामा कोरोना संक्रमणको दर पछिल्लो समयमा बृद्धि भएको छ ।
उपचाररतमध्ये चारजना घोराही र तीनजना तुलसीपुरका बिरामी छन् । जिल्लामा सक्रिय संक्रमित ३३ जना मध्ये सातजना अस्पताल र अरु बाँकी बिरामी होम आइसोलेशनमा छन् ।
हालसम्म कोरोना विशेष अस्पतालमा दाङ, सल्यान, रोल्पा, रुकुम, बाँके, बर्दिया, कपिलवस्तु, प्युठानका ६२२ जना बिरामी भर्ना भएकामध्ये छ सय १४ जना उपचारपछि घर फर्किएको र आठ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक केसीले जानकारी दिनुभयो ।
अस्पतालमा कोरोनाका बिरामी उपचारका लागि १५ वटा एचडिसियु बेड र पाँचवटा आइसियु बेड रहेका छन् । अस्पतालमा रहेका एचडिसियु बेड १३ वटा खाली भए पनि आइसियु बेड खाली छैनन् । दाङमा हालसम्म तीन हजार छ सय ६२ जनामा कोरोना संक्रमण भएको छ । दाङका ५० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।।