२०८० असोज १७ गते बुधवार

कोरोनाले जोखिम बढाएपछि विर्तामोडका साप्ताहिक बजार बन्द



१७ चैत,घोराही । कोरोना संक्रमण फैलिँदै गएपछि झापाको विर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार बन्द गरेको छ। बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो। मंगलबार बसेको नगरस्तरीय कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए।

विर्तामोड क्षेत्रभित्र बुधबारे हटिया, बिर्ताबजार, गरामनी, सैनिक बजार, चारपाने, चैतुबारी लगायतका स्थानमा हाटबजार लाग्ने गरेको छ। ती सबै हाटबजार लाग्न नदिने निर्णय गरिएको खड्काले बताए। त्यसैगरी, नगरभित्र २५ जनाभन्दा बढी मानिसको भीड हुन नदिने बैठकले निर्णय गरेको छ।

२५ जनाभन्दा बढी भीडभाड हुने खालका कार्यक्रम, बैठक, सेमिनार, गोष्ठीजस्ता कार्यक्रम गर्न नदिने निर्णयसमेत भएको फोकल पर्सन खड्काले जानकारी दिए। बैठकमा स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त परिपत्र अनुसार स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू पालना गर्ने र गर्न लगाउनेसमेत निर्णय भएको छ।

मास्क अनिवार्य लगाउने, सेनिटाइजार प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता मापदण्डलाई पालना गरिनुपर्नेमा जोड दिइएको छ। विर्तामोडमा हालसम्म ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भइसकेको छ।

नगरपालिकाका ४ हजार ९४५ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ हजार ७७४ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियानमा ६५ वर्षमाथिका ३ हजार ३९५ जनालाई कोरोनाको खोप लगाइएको फोकल पर्सन खड्काले जानकारी दिए। उनका अनुसार त्यसअघि पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, कर्मचारी, पत्रकार लगायतलाई कोरोनाको खोप दिइएको थियो।

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्