२०७८ माघ ९ गते आइतवार

केन्द्रीय अध्यक्षमा पोख्रेललाई विजयी बनाउन चुनावी अभियान थाल्ने



१७ चैत,दाङ । नेपाल प्रेस युनियन दाङले नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा युनियनका सल्लाहकार विपुल पोख्रेललाई विजयी बनाउन चुनावी अभियान थाल्ने भएको छ । मंगलवार घोराहीमा भएको भेलाले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सल्लाहकार पोख्रेललाई महासंघको केन्द्रीय अध्यक्षमा अत्यधिक बहुमतले निर्वाचित गराउनका लागि चुनावी अभियान थाल्ने निर्णय गरेको हो ।

युनियनका सल्लाहकार पोख्रेललाई नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित गराउनका लागि युनियनका सबै सदस्यहरु कर्मठ भई चुनावी अभियानमा लाग्ने भेलाले निर्णय गरेको छ । यसैगरी नेपाल पत्रकार महासंघ दाङको नयाँ कार्यसमिति सहमतिबाट चयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सहमतीय नेतृत्वका लागि युनियनले अन्य पत्रकार संगठनहरुसँग वार्ता तथा छलफल थाल्ने युनियनले निर्णय गरेको छ ।

सहमतिका लागि युनियनले नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा लीला शाह, नारायण खड्का, आर.के. शितल, देवेन्द्र बस्नेत, किरण शाह र गोपाल शर्मा भट्टराई सदस्य रहेका छन् । यो कार्यदलले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि सहमतिका माध्यमबाट चयन गर्न अन्य संगठनहरुसँग वार्ता थाल्ने छ ।

यसैबीच नेकपा एमाले निकट प्रेस चौतारीको सोमवार बसेको भेलाले दुर्गालाल केसीको नेतृत्वमा महासंघको निर्वाचनमा जाने निर्णय गरेको छ । अन्य पदाधिकारी तथा सदस्यको भने पछि टुंगो लगाइने कार्यदलका सदस्य इन्द्र डिसीले बताएका छन् ।्

प्रकाशित मिति : २०७७ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्