२०७८ बैशाख ९ गते बिहिवार

शनिबारको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने खनाल-नेपाल समूहको निर्णय



६ फागुन,काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले शनिबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भएको छ । खनाल-नेपाल समूहको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

केन्द्रीय कमिटी बैठकका नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले बैठक राखेर विधान उल्लंघन गरेको ठहर गर्दै सो समूहले बैठकले गरेको निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने र सो अनुसार शनिबार तय भएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । खनाल–नेपाल समूहले ओलीले मनपरी ढंगले २८ गते बैठक राखेर पार्टी विधानविपरित निर्णय गरेको भन्दै चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय भेला समेत गरिसकेको छ ।

खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरु शनिबारको केन्द्रीय समिति बैठकमा सहभागी नुहने बताइन् । उनले आफूहरुको सर्त फागुन २८ को निर्णय खारेजी भएको उनको भनाइ छ । तर प्रधानमन्त्री केपी ओलीले भने खनाल–नेपाल समूहलाई बैठकमा सहभागी हुन अनुरोध गर्दै आएका छन् ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा पनि सहभागी नहुने निर्णय खनाल-नेपाल समूहले गरेको छ ।

बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा भने विचार गर्न सकिने नेपाल–खनाल समूहले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्