२०७८ बैशाख २ गते बिहिवार

एमाले नेपाल समूहको दुई दिने राष्ट्रिय भेला सकियो : ओलीका सबै निर्णय अस्वीकार गर्ने



५ चैत,काठमाडौं । नेकपा (एमाले)माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ। ललितपुरको एक होटलमा बुधबार सुरु भएको भेला बिहीबार सम्पन्न भएको हो।

भेला नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको हो। भेला सम्पन्न भएको जानकारी दिँदै नेकपा नेता विष्णु रिजालले भेलाले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीका निर्णय अस्वीकार गर्ने निर्णय भएको बताए।

‘भेलालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गरेका विधानविपरितका सबै निर्णय अस्वीकार गर्ने निर्णय भएको छ’, रिजालले भने। भेलाले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ। एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले ओलीलाई आग्रह गरेको छ।

केपी ओलीबाट प्रतिनिधिसभालाई विघटन गरेर गरेको राजनीतिक अस्थिरता र पार्टी विधान विपरित भएका काम र गुटबन्दी र राष्ट्रियहित विरुद्ध अग्रसर हुन भेलाले सबैलाई अनुरोध गरेको छ।

नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरु भएको हो। बैठकमा भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए।

नेता नेपालले प्रस्तुत गरेका अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ। नेता नेपालले पार्टी पंक्तिले आगामी दिनमा निर्वाह गर्नुपर्ने भूमिका, वर्तमान अवस्थाका चुनौतीहरु र आगामी कार्यभारहरुका बारेमा अवधारणापत्रमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्