२०७८ बैशाख ६ गते सोमवार

दाङमा तीन चरणमा २८ हजार भन्दा बढिले लगाए कोरोना बिरुद्धको खोप



५ चैत, दाङ । कोभिड १९ बिरुद्धको खोप तीन चरणमा लगाइएको छ । दाङमा तीन चरणमा गरी २८ हजार सात सय ९३ जनाले कोरोनाबिरुद्धको खोप लगाएका छन् । सरकारले प्राथमिकतका आधारमा तीन चरणमा गरी माघ १४ गतेदेखि देशभर खोप लगाउने अभियान शुरु गरेको थियो । स्वास्थ्य कार्यालय दाङका अनुसार दाङमा तीन चरणको खोप अभियान सम्पन्न भइसकेको छ । जसअनुसार जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी , चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी गरी तीन हजार पाँच सय ४६ जनालाई कोरोनाबिरुद्धको खोप लगाइएको छ ।

त्यस्तै फागुन २३ गतेबाट दोस्रो चरणमा कर्मचारी, पत्रकार, जनप्रतिनिधि गरी चार हजार तीन सय ३३ जनालाई कोरोनाबिरुद्धको खोप लगाइएको छ । त्यस्तै फागुन २० गतेदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई तेस्रो चरणमा गरी जिल्लाभर २० हजार तीन सय ज्येष्ठ नागरिकहरुलाई खोप लगाइएको हो । पहिलो चरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र लमही अस्पताल गरी तीनवटा अस्पताल खोप केन्द्रबाट खोप लगाइएको थियो तर दोस्रो र तेस्रो चरणमा जिल्लाका १० वटै स्थानीय तहका एक सय आठवटा स्वास्थ्य चौकीमध्ये ७० वटा स्वास्थ्य चौकीमार्फत खोप लगाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादु शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ चैत्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्