४ चैत, वीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी नाम बदर गरी सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रदेशमा समेत सरकारको पोजिसन बदलिने देखिएको छ । यसको सुरुआत नेकपा एमालेले कर्णाली प्रदेशबाट थालेको छ । प्रदेश सरकारमा रहेका एमाले मन्त्रीहरुलाई संसदीय दलले आज फिर्ता बोलाएको छ ।
नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्र शाही सरकारमा सम्मिलत एमाले मन्त्रीहरुलाई फिर्ता बोलाइएको जानकारी एमाले नेता यामलाल कंडेलले दिए । कंडेल प्रधानमन्त्री केपी ओली निकट हुन् भने फिर्ता बोलाइएका मन्त्रीहरु वरिष्ठ नेता माधवकुमार नेपाल निकट रहेका छन् ।
नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा प्रकाश ज्वाला, दलसिंह रावल र नन्दसिंह बुढा रहेकाछन् । उनीहरु सबै नेता नेपाल निकट हुन् ।संसदीय दलका नेता कंडेलका अनुसार, पाँच दिन भित्र पार्टीका तर्फबाट गएका मन्त्रीहरुलाई फिर्ता बोलाइएको हो । साथै, सरकारलाई दिइएको समर्थन समेत फिर्ता लिएको उनले बताए ।
अब शाही नेतृत्वको सरकार अल्पमतमा परेकोछ । यसरी फिर्ता बोलाउन गरिएको निर्णयमा एमालेका आधा सांसद मात्र उपस्थित थिए । प्रदेश सभामा एमालेका २० जना सांसद् रहेकाछन् । त्यसमध्ये आज १० जना मात्र उपस्थित थिए ।