२०७८ बैशाख २ गते बिहिवार

विदेशीसँग मिलेर अनलाइनमार्फत ठग्ने नेपाली एजेन्ट पक्राउ



३ चैत,काठमाडौं । विदेशीसँग मिलेर अनलाइनमार्फत ठगी गर्ने नेपाली एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहान घर भएका रञ्जित यादव छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा रञ्जितलाई विराटनगरबाट पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–३ बस्ने २३ वर्षीय रञ्जितले अमेरिकी र अफ्रिकनसँग मिलेर अनलाईमार्फ ठगी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । माघ ४ मा ललितपुर प्रहरीले पर्सा घर भएका प्रमोद शाह उर्फ अजय र मेवालाल साह तेलीलाई पक्रेको थियो । रञ्जित उनीहरुभन्दा १ तह माथिका एजेन्ट हुन् । उनी विराटनगरमा अंश मनि ट्रान्सफर चलाउँछन् ।

समाजिक सञ्जाल फेसवुक, ह्वाट्स एप, ई–सेवा र आईएमई पे–वालेट दुरुयोग गरेर रञ्जितको समूहले ‘अमेरिकाको नागरिक हुँ’ भन्दै इलेक्ट्रोनिक सामान डेलिभरी गराउने प्रलोभनमा पारेर ठग्ने गरेका थिए । इलेक्ट्रोनिक सामान विदेशबाट नेपालसम्म डेलिभरी गर्ने प्रलोभनमा सो समूहले बैंक तथा आईएमईमा पैसा जम्मा गर्न लगाएर ठग्ने गरेको ललितपुरका प्रवक्ता (एसपी) प्रज्वल महर्जनले रातोपाटीलाई बताए ।

प्रहरीले उनीहरुविरुद्ध ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । फेसवुकको विज्ञापनमा लोभ्याएर सो गिरोहले विदेशी नागरिक गर्दिनिया दुवात्रे सँग सम्पर्क गराउँथे । सामान खरिदका लागी ५ हजारको फर्म भर्न भन्थे । ह्वाट्स एपबाट मात्र कुरा गर्थे । डिएचएल कार्गोबाट सामान नेपाल पठाउन लागेको जानकारी दिन्थे । विदेशबाट नेपालमा सामान आइरहेको भनेर विश्वास जित्न ट्र्याकिङ आइडी दिन्थे । अनि, पैसा पाएपछि सम्पर्क बिहिन हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्