२०७८ बैशाख २ गते बिहिवार

सल्यानका स्थानीय तहमा हुने विकास निर्माणलाई प्रभावकारी बनाउन त्रिपक्षिय प्रतिवद्धता



२ चैत,सल्यान ।
स्थानीय तहमा हुने विकास निर्माणलाई दिगो र प्रभावकारी बनाउन त्रिपक्षिय प्रतिवद्धता भएको छ । योजनाको छनोट, कार्यान्वयन, मर्मतसम्भार लगायतका हरेक चरणमा जनसहभागिता बढाउनुपर्नेमा जोड दिँदै त्रिपक्षिय प्रतिवद्धता भएको हो । सल्यानको कपुरकोटमा भएको सहभागितामुलक योजना निर्माण र कार्यान्वयन प्रक्रिया सम्बन्धी अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । जनप्रतिनिधी, कर्मचारी र नागरिक समाजका प्रतिनिधीहरुले सहभागितामूलक विकास सिद्धान्त अनुसार योजना तर्जुमा कार्यान्वयन देखि अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका हुन् ।

दलित विकास समाज सल्यानको आयोजनामा सोमबार कपुरकोटमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बस्ती स्तरबाट माग भएर आएको योजना दिगो हुने बताए । उनले स्थानीय तहको निर्वाचनाबाट चुनिएका जनप्रतिनिधिहरूको प्रमुख दायित्व जनतालाई उनीहरूको आवश्यकतामा आधारित विकासको प्रत्यक्ष अनभूति दिलाउने नै रहेकाले विकासमा कर्मचारी, नागरिक समाज र निर्वाचित प्रतिनिधि एकजुट भई काम गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले कतिपय योजना र लगानी चौपट भएको आफुहरुले अनुगमनको क्रममा पाएको बताउंदै यसको सुधारमा लागिरहेको बताइन् । उनले आफ्नो संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कामलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन् । वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर सेनले हरेक विकास र योजनालाइ दिगो गुणस्तरीय बनाउन हरेक बस्तिबाट जन सहभागिता जरुरी रहेको बताए ।

योजना शाखाका प्रमुख खगेन्द्र बहादुर शाहिले सबै घरधुरीका नागरिकहरूलाई समस्याको पहिचान, योजनाको छनौट, प्राथमिकता र निर्णय लिने कार्यमा संलग्न गराउन उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । सामुदायिक समुहको तर्फबाट बोल्दै हरियाली सामुदायिक समूह कपुरकोट ६ का सचिव हुकुम सिंह विकले अन्तरक्रियाबाट धेरै महत्वपूर्ण कुराहरु थाहा पाएको बताए ।

अन्तरक्रिया कार्यक्तममा प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का लगाय ६ वटै वडाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, वडा सचिवहरु र समुदायिक समूह एवम युवा मञ्चका प्रतिनिधिहरुको पनि सहभागिता थियो । दलित विकास समाज सल्यानद्वारा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सहभागितामुलक योजना निर्माण र कार्यान्वयन प्रक्रिया सम्बन्धी सरोकारवालाहरुसंग एक दिने अन्तरकृया कार्यक्रम सोमबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक श्री गुमानसिंह नेपालिले गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्