२०७८ बैशाख २ गते बिहिवार

अब कामदारले रोजगारदाताको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने



२ चैत ,काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्यमुलक साउदी अरबको ‘काफला’ (स्पोन्सरसिप) प्रणालीमा सुधार भएको छ । साउदी सरकारले गरेको यो सुधारसँगै अब त्यहाँ कार्यरत नेपाललगायत विभिन्न मुलुकका आप्रवासी कामदारले रोजगारदाताको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने छन् ।

साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको काफला प्रणालीमा सुधार आइतबारदेखि लागू भएको हो । जसका कारण अब साउदीमा कार्यरत लाखौं नेपालीलगायत विभिन्न मुलुकका आप्रवासी कामदारलाई सजिलो हुने अपेक्षा गरिएको छ । अहिले साउदीले आप्रवासी कामदारमाथि आइपर्ने हरेक समस्यालाई सहज र सरल बनाउने उद्देश्यले ‘काफला’ प्रणालीमा थप सुधार गरेको जनाएको छ ।

यो नयाँ सुधार कार्यान्वयनमा आएसँगै अब साउदीमा कार्यरत आप्रवासी कामदारले रोजगारदाताको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्नेछन् । आप्रवासी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ । अब कामदारले रोजगारदाता मालिकको अनुमतिबिना सो देशबाट सहजै बाहिरिन र भित्रिन पाउनेछन । यो नयाँ सुधारात्मक व्यवस्थाभन्दा पहिले साउदीमा कार्यरत आप्रवासी कामदारले काम परिवर्तन गर्न चाहेको अवस्थामा मालिकको पूर्वस्वीकृति आवश्यक हुन्थ्यो । अब भने आफ्नो काम छोडेर अन्तै काम गर्न मालिकको पूर्वस्वीकृति आवश्यक नपर्ने भएको छ ।

यसअघि आप्रवासी कामदारको राजधानीसमेत सम्बन्धित रोजगारदाता कम्पनीले नै राखेर आफ्नो उद्योगमा काम गराउँदै आएको थियो । त्यस्तो अवस्थामा रोजगारदाता मालिकबाट धेरै कामदार समस्यामा परेका थिए । अब पहिलेको जस्तो समस्या भोग्न नपर्ने व्यवस्थासहित यो ‘काफला’ प्रणालीमा सुधार गरिएको साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यस्तो सुधारात्मक नयाँ निणर्यबाट अब साउदीमा रहेका करिब १ करोड आप्रवासी कामदार लाभान्वित हुनेछन् । यसअघि नेपालीलगायत विभिन्न देशका आप्रवासी कामदारलाई आफ्नो रोजगारदाता कम्पनीका मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको थियो । सो समय आप्रवासी कामदारको हक खोसिएको भन्दै त्यसको विरोध भएको थियो ।

यसअघि काफला प्रणालीको विरोधमा उत्रिएका केही मानव अधिकारवादी संस्थाले समेत अहिले आइतबारदेखि लागू भएको यो काफला सुधारको स्वागत गरेका छन् । तर, काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा भने असन्तुष्टि जनाएको सम्बन्धित सरोकारवाला एवं व्यवसायीको भनाइ छ ।

उनीहरूले जतिसक्दो छिटो अब अझै कायमै रहेको केही प्रावधान हटाउन माग गरिएको बताएका छन् । साउदी सरकारले गरेको यस्तो नयाँ निणर्यसँगै विशेषगरी घरेलु कामदारमा पुग्ने नेपाली कामदारलाई धेरै राहत हुनेछ । त्यहाँ कार्यरत कामदारले स्वछन्द रूपमा आफ्नो करार सम्झौतापत्रका आधारमा रोजगारी गर्न पाउने छन् ।

नेपाली कामदारका लागि अर्को आकर्षक रोजगारदाता गन्तव्य मुलक कतार सरकारले भने २०७३ सालदेखि नै आप्रवासी कामदारका लागि आफ्नो देशमा लगाउँदै आएको काफला ( स्पोन्सरसिप) प्रणाली खारेज गरेको छ । साउदीमा भने अझै कायमै थियो ।

साउदीलगायत खाडीका केही देशले लागू गरेको नयाँ काफला प्रणालीका कारण त्यहाँ कार्यरत नेपाली कामदार थप कष्टकर समस्या भोग्नुपरेको भन्दै व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि काफला प्रणाली श्रमिकको हितमा नभएको निष्कर्ष निकालेको थियो ।

२०७३ सालको ५ देखि १४ चैतसम्म खाडी मुलुकका रोजगारदाता देश कतार, साउदी अबर, यूएई र कुवेतमा नेपाली कामदारको अवस्थाबारे अनुगमन गरेर फर्केको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आफ्नो स्थलगत अध्ययन प्रतिवेदन पेस गर्दै काफला प्रणाली हटाउने पहल गर्न सरकारलाई सुझावसमेत दिएको थियो ।

त्यसपछि नेपाल सरकारबाट भएका यस्ता धेरै प्रयास एवं सुझावकै आधारमा अहिले साउदी अरबले आइतबारदेखि नै कार्यान्वयन हुनेगरी काफला प्रणालीमा थप सुधार गरेको हो । यसअघि अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले समेत तीव्र असन्तुष्टि जनाउँदै साउदीको काफला प्रणालीलाई आधुनिक जमानाको दास प्रणालीका रूपमा चित्रण गरेको थियो ।

प्रकाशित मिति : २०७७ चैत्र २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्