२०८० चैत्र १५ गते बिहिवार

कर्मठ मनहरु…



कर्मठ मनहरु :

टाकुराबाट

तल हेदै जाँदा

मैले

हरिया वन संगैका

पातला बस्तीहरु देखे,

टारी खेतका फाटहरु,

बतासे डाँडासंगैे

सिमल, उत्तिसका रुखहरु

“जिम्दार बा” का

घर अधाडी बनाईएका

ठूला खलियानहरु देखे ।

 

गोरुले दाही हालिरहेका,

कतै धान ओसाईरहेका,

खेतमा गहु र्छर्ने मेलोमा

हतार हतार खेत जोत्दै गरेका

सोझा, निमुखा

कर्मठ मनहरु देखे ।

तिनका

श्रीहिन अनुहार,

भावशून्य आँखा,

आकाक्षा बिहिन मनहरु

भित्र लुकेका

स्वाभिमानी हासो र

नि स्वार्थ भावना देखे ।

 

आफनै कर्मको मेलोमा रमाईरहेका

छल, कपट नजानेका

सोझा प्रौढ

बाबु र तिनका छोराहरु देखे ।

माटो धुलोसंग रमाईरहेका बालकहरु

र तिनका ओठमा

निश्चल हासो देखे ।

घन, नाम र देखावटीपनको

महत्वकाक्षामा नपरी

आफनो अस्मिता जोगाउन

असल चरित्रमा र

स्वाभिमानमा अडिक

आत्मसम्मान पूर्वक बाच्न जानेका

सरल, सरस जिवनसंग अभ्यस्त

किशोरी र तिनका आमाहरु देखे ।

ति सबै

भित्री मनदेखी नै

हासिरहेको देखे,

हासिरहेको देखे ।

प्रकाशित मिती: २०७८ बैशाख १७ गते शुक्रबार

प्रकाशित मिति : २०७८ बैशाख १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्