२०७८ असार ८ गते मङ्गलवार

दाङमा खोप लगाउन जेष्ठ नागरिक उत्साहित, १३ हजारले खोप लगाए



घोराही, २६ फागुन । दाङमा कोरोना भाइरस बिरुद्धको खोप लगाउन जेष्ठ नागरिकहरु निकै उत्साहित देखिएका छन् । दाङमा सरकारले तेस्रो चरणको अभियान अन्तरगत ६५ बर्ष माथीका जेष्ठ नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाईरहेको छ ।

यही फागुन २३ गते देखी सुरु गरिएको खोप कार्यक्रममा जेष्ठ नागरिकहरु निकै उत्साहित भएर खोप अभियानमा सहभागि भएका छन् । फलस्वरुप तीन दिनमा १३ हजार बढीले खोप लगाएका छन् ।

जिल्लाका दशवटै स्थानिय तहमा जारी कार्यक्रममा तीन दिनको अबधीमा १३ हजार ३ सय ५५ जना जेष्ठ नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाएका हुन् ।

सरकारले छिट्टै खोप ल्याई निशुल्क खोप लगाईदिएको प्रति जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् । ६५ बर्ष माथी एक सय ४ बर्ष सम्मका जेष्ठ नागरिकहरु केन्द्रमा आई खोप लगाएका छन् ।

यस अघिको दुई चरणमा स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधी, पत्रकार लगाएतका ७ हजार ८ सय ७९ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेका छन् । तेस्रो चरणमा ६४ हजार ५ सय ७७ जना जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्