२०७८ साउन १६ गते शनिवार

गुणस्तर र लेभलिङमा स्वच्छता कायम गर्न अभिमुखिकरण



२१ फागुन,घोराही/
दाङको घोराहीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई उत्पादनमा गुणस्तर र लेभलिङका विषयमा अभिमुखिकरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा उद्यमीहरुलाई उत्पादित वस्तुको गुणस्तर र लेभलिङमा स्वच्छता कायम राख्ने गरी अभिमुखिकरण गरिएको हो ।

उद्यमीहरुलाई उत्पादनमा गुणस्तर कायम राख्ने गरी सहयोग पुगोस भन्ने उदेश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिनुभयो ।

उपभोक्ता अधिकार, ब्यवसायीक दायित्व विषयमा कार्यपत्र प्रस्तुत गदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले व्यवसायीहरुले आफनो व्यवसाय संगै दायित्वलाई भुल्न नहुने गरि कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उत्पादित वस्तुको लेभलिङ, प्याकेजबारे कार्यपत्र खाद्य प्रविधी तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जाराले प्रस्तुत गर्नुभयो ।

उपभोक्ता अधिकार र कर्तव्यको कानूनी व्यवस्थाका वारेमा उच्च अदालत तुलसीपुर वारका अध्यक्ष रबिन्द्रकुमार धितालले कार्यपत्र प्रस्तुत गर्दै व्यवसायीहरुले नै उपभोक्ता अधिकारमा बढी ध्यान दिएर सेवा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उत्पादन वस्तुमा गुणस्तर कायम राख्न सक्नु नै सफलता भएको बताउनुभयो । गुणस्तर कायम गरेर आफनो उत्पादनको व्राण्ड वनाउन रहेको उहाँको भनाई छ । उत्पादनलाई गुणस्तर युक्त बनाउन सके सबैको खोजी र रोजाईको बन्ने नगर प्रमुख चौधरीले बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल आचार्यले व्यबसायीक इमान्दारीताबाट आफुहरु बिचलित नहुने बताउनुभयो । उत्पादन गरिने वस्तुको गुणस्तर कायम गराउन राज्यले पनि निगरानीमा ध्यान दिने र व्यवसायीक इमान्दारीता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण कार्यालयका अधिकृत माधव तिमिल्सीनाले गरेका थिए । कार्यक्रममा विभिन्न वस्तु उत्पादन गर्ने उद्यमी तथा सरोकारवालाहरुको सभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्