२०७८ मङ्सिर १६ गते बिहिवार

दाङमा तेस्रो चरणमा कोरोना खोप लगाईदै, साढे ६४ हजारलाई लगाईने



१६ फागुन,घोराही ।
दाङमा तेस्रो चरणमा साढे ६४ हजार नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारी भएको छ । स्वास्थ्य कार्यालय दाङले आज जनप्रतिनिधी, सुरक्षा निकाय र पत्रकारहरु सँग छलफल कार्यक्रमको आयोजना गरि यही फागुन २३ गते देखी तेस्रो चरणको खोप अभियान सुरु गर्ने जानकारी दिएको हो ।

जस अनुसार घोराहीमा १७ हजार ८ सय १९, तुलसीपुरमा १६ हजार एक सय ८४, राप्तीमा ५ हजार ४ सय ३५, लमहीमा ४ हजार ८ सय ६६ र बंगलाचुलीमा ३ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिईएको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी, शान्तिनगरमा ३ हजार ७ सय ७६, बबईमा ३ हजार ४ सय ८१, गढवामा ३ हजार ४ सय २९, राजपुरमा २ हजार ९ सय ५ र दंगिशरणमा २ हजार ६ सय ८७ जनालाई खोप लगाउने गरी तयारी थालिएको उहाँको भनाई छ ।

पहिलो र दोस्रो चरणमा ७ हजार ८ सय ७९ जनाले कोरोना बिरुद्धको खोप लगाएका र तेस्रो चरणमा ६४ हजार ५ सय ७७ जनालाई खोप लगाउने तयारी गरिएको हो ।

तेस्रो चरणमा ५५ बर्ष भन्दा माथीका व्यक्तिहरु र विद्यालयका शिक्षकहरुलाई खोप दिईने छ । यस अघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, कैदीबन्दी, स्वास्थ्य स्वयसेविका, कर्मचारी, पत्रकार र बंैंकका कर्मचारीहरुले खोप लगाएका थिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने स्वास्थ्य क्षेत्रका व्यक्तिहरुले ढुक्क भएर खोप लगाउन र मास्क एवं स्यानिटाईजरको प्रयोगमा निरन्तरता दिन समेत सबैमा आग्रह गरेका छन् ।।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्