२०७८ कार्तिक १ गते सोमवार

प्रचण्डद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन



९ फागुन । भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिनुभएको छ । साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गर्नुभएको छ ।

पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको राजनीतिक घटनाक्रमबारे अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले विगतदेखि नै साथ सहयोग दिँदै आएको स्मरण गर्नुभयो ।
नेपालमा लोकतन्त्रका लागि आवाज उठाउनेहरुलाई राजा महाराजाहरुकै पालादेखि ‘अराष्ट्रिय तत्व’ र ‘भारतीय दलाल’को संज्ञा दिने ‘सामन्ती राष्ट्रवाद’ हावी रहेको बताउँदै प्रचण्डले अहिले त्यो सामन्ती राष्ट्रवादको प्रतिनिधित्व केपी ओलीले गरिरहेको बताउनुभयो ।

दुई महिनायता संसद विघटनविरुद्ध आन्दोलनका क्रममा प्रचण्डले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । लोकतान्त्रिक देशहरुले नेपालमा लोकतन्त्रको पक्षमा समर्थन गर्ने उहाँले दाबी गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्