२०७८ बैशाख ९ गते बिहिवार

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी



८ फागुन,मोरङ । नेकपाको ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको प्रदेश- १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने घिमिरेले बताए । आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ । केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्‍याली निसक्नेछन् । र्‍याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने उनले जनाए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।

दाहाल-नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ ।खबरहबबाट

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्