२०७८ बैशाख २ गते बिहिवार

अपाङ्ग पुनःस्थापना केन्द्रमा मुख्यमन्त्री



६ फागुन,फागुन ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले घोराही उपमहानगरपालिकाको वडा नं. १४ मा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गहरुसंग भेटघाट गर्नुभएको छ । २०५४ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघले विगत दुई बर्ष देखि अपाङ्ग पुनःस्थापना केन्द्र संचालनमा ल्याएको छ । मुख्यमन्त्री पोखरेलले पुनःस्थापना केन्द्रमा रहेका अपाङ्गहरुसंग भेट गरेर अवस्थाको जानकारी लिनुभएको थियो ।

उक्त अवसरमा नेपाल अपाङ्ग संघका अध्यक्ष शरद अधिकारीले पुनःस्थापना केन्द्र संचालनका लागि गरिएका प्रयास, अहिले देखिएका समस्या र प्रदेस सरकारसंगका अपेक्षाका बारेमा भनाई राख्नुभएको थियो ।

यस्तै नेपाल अपाङ्गसंघका पूर्व अध्यक्ष भोलानाथ योगीले अपाङ्ग संघका नाममा डेढ विगाहा भन्दा धेरै जमिन रहेको भन्दै प्रदेशकै नमूना पुनःस्थापना केन्द्र संचालनका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । २०५४ सालमा स्थापना भएको केन्द्रले तत्कालिन राप्ती अञ्चललाई खुँडे मुक्त बनाउनका लागि भूमिका खेलेको भन्दै विगतमा सिप विकासका कार्यक्रमहरु र अधिकारका लागि वकालत गर्ने काम गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै मुख्मन्त्री शंकर पोखरेलले अपाङ्गता भएकाहरुलाई माया ममता दिएर स्याहार सुसार गर्नु निकै गाह्रो काम भएको बताउनुभयो । उहाँले अपाङ्गता भएकाहरुलाई सकेसम्म परिवारमै पुनःस्थापना गराउनुपर्ने भन्दै परिवारमा समस्या भएको खण्डमा पुनःस्थापना केन्द्रमा राख्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले बहुउद्देश्यिय भवन निर्माणका लागि मास्टर प्लान बनाएर अघि बढ्न र त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

सोही अवसरमा नेपाल अपाङ्गसंघका निवर्तमान अध्यक्ष श्रीमन न्यौपानेले अपाङ्गता भएकाहरुलाई केन्द्रमा राखेर पालन पोषण गर्दा भोग्नु परेका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पोखरेलका साथमा उहाँकी धर्मपत्नी तथा विघटित प्रतिनिधि सभाका सदस्य सुजिता शाक्य पनि नेपाल अपाङ्ग संघमा पुग्नुभएको थियो । हाल अपाङ्ग संघमा सहारा विहीन १० जना अपाङ्गहरु आवासिय सुविधा सहित बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्